Sagun Khabar
क्यान्सरको जोखिम बढ्दै, छैन् उपचारमा पहुँच 

बैतडी–पछिल्लो समयमा क्यान्सरजस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएको छ । आधुनिक जीवनशैली,खानपीन, शारीरिक व्यायामको कमी लगायतका कारणले क्यान्सरजस्ता रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

बैतडीको दशरथचन्द नगरपालिका –२ देहीमाण्डौंमा सञ्चालन भएको शिविरमा ३५ जना क्यान्सरका शंकास्पद बिरामी फेला परेका छन् । शिविरमा आएका ६ सय ९१ जनामध्ये ३५ जना शंकास्पद बिरामी फेला परेका हुन् । ती मध्ये ८ जनालाई थप उपचारका लागि क्यान्सर अस्पतालमा सम्पर्क राख्न भनिएको छ । 

Atrya hospital

यो तथ्यांकले समेत क्यान्सरजस्ता रोगहरुको जोखिम बढ्दै गएको देखाएको दशरथचन्द नगरापालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । उनले भने ‘शिविरमा आएका बिरामीमध्ये ३५ जना शंकास्पद बिरामी फेला पर्नु निकै चुनौतीको बिषय हो । ८ जनालाई क्यान्सर अस्पतालमै उपचारका लागि बोलाएकाले उनीहरुमा क्यान्सर छ भन्ने कुराको पुष्टि भएको छ ।’

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको तथा दशरथचन्द नगरपालिकाले आयोजना गरेको शिविरमा क्यान्सरका शंकास्पद बिरामी फेला परेका हुन् । 

क्यान्सरको उपचारका लागि सहज पहुँच समेत नहुँदा बिरामीहरुले थाहा नपाइकनै अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रही आएको छ । नसर्ने रोगहरुको जोखिम बढ्दै गएको र यस्ता रोगहरुको उपचार समेत महंगो हुने भएकाले सबैको पहुँच पुग्न नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने ‘नसर्ने रोगहरु जनस्वास्थ्यको समस्याका रुपमा देखापरीरहेका छन् । क्यान्सरजस्ता रोगहरु फैलिँदै गएका छन् ।’

क्यान्सरका बिषयमा जानकारी समेत नहुँदा बिरामीहरु जटील अवस्था भएपछि मात्रै अस्पतालमा पुग्ने गरेका छन् । स्थानीयस्तरमा क्यान्सरजस्ता रोगहरुको उपचार सम्भव नभएकाले पनि बिरामीहरु समयमै यसको बारेमा थाहा पाउन सकिरहेका छैनन् । 

जटील अवस्थामामात्रै क्यान्सर बिरामीहरु अस्पताल पुग्ने गरेको बैतडीकी एक बिरामीले बताइन् । स्थानीयस्तरका स्वास्थ्य संस्थाहरुको क्यान्सर परीक्षणको सुविधा नहुँदा गरीब नागरिकहरु रोग पालेर बस्न बाध्य रहेको उनले सुनाइन् । उनले भनिन् ‘मलाई लगातार रक्तश्रावको समस्या भयो । लगातार रक्तश्राव भएपछि भारतमा गएर उपचार गराउँदा पाठेघरको क्यान्सर भएको थाहा भयो । पछि मैले पाठेघर फाल्नुपर्ने अवस्था आयो ।’

बैतडीमा पनि क्यान्सरका बिरामीहरु दिनानुदिन बढ्दै गएका छन् । यकिन तथ्यांक नभएपनि विभिन्न समयमा सञ्चालन हुने शिविरबाट र अन्यत्र उपचार गराउँदा क्यान्सर भएका बिरामीहरु धेरै पाइएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘हाम्रो जीवनशैलीमा आएको परिवर्तनकै कारण क्यान्सरजस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएको छ । यो जनस्वास्थ्यको विकराल समस्याको रुपमा अगाडि आएको छ ।’
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update