बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले पूर्व प्रधानमन्त्री एवं बरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन पत्र प्रदान गरेको छ । सुर्नया गाउँपालिका २ कुरकुट्यामा जन्मेका पूर्व प्रधानमन्त्री चन्दले देश र साहित्यको क्षेत्रको पुर्याएको योगदान स्वरुप गाउँपालिकाकोतर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
बिहीबार धनगढीमा पूर्व प्रधानमन्त्री चन्दको सम्मानमा आयोजना भएको नागरिक अभिनन्दन कार्यक्रममै गाउँपालिकाकोतर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको अध्यक्ष चन्दले बताए ।
सुर्नयाको धर्तीमा जन्मेर चन्दले देश र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याएकाले गाउँपालिकाकातर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको हो । चन्दलाई प्रदान गरिएको अभिनन्दन पत्रमा सुर्नयाको धर्तीले यस्ता पात्रलाई जन्मदिएकोमा गाउँपालिकाबासीहरुलाई असीम गौरवको अनभूती भएको उल्लेख गरिएको छ ।
विसं १९९६ साल फागुन ३ गते बुवा स्व.महाबीर चन्द र आमा स्व.लक्ष्मीदेवी चन्दको कोखबाट जेष्ठ सुपुत्रका रुपमा जन्मेका लोकेन्द्रबहादुर चन्दले चार पटक प्रधानमन्त्री बनेर देशको सेवा गरेका छन् । राजनीतिमा स्वच्छ छबिको परिचय बनाएका चन्द समकालिन नेताहरुमध्ये सन्त नेताको रुपमा परिचित रहेका छन् ।
नेपाली साहित्यको क्षेत्रमा पूर्व प्रधानमन्त्री चन्दको बिशिष्ट योगदान रही आएको छ । उनका थुप्रै कृतिहरु मध्ये विर्षजन कथा संग्रह लेखेपछि उनलाई २०५४ सालमा मदन पुरुस्कार पाईएको थियो । नेपाली साहित्यको इतिहासमा उनका पाहुनाघर, विषर्जन, द चियर, ईन्द्रधनुष, तिम्रो झलक, अपराजिता, हिउँको डल्ला, सन्ध्यावली, अपचित, बाह्रौ खेलाडी, लेमिङहरु, रात्री भोज र नेता साथी जस्ता दर्जनौं कृतिहरु प्रकाशित छन ।