Sagun Khabar
अब्बल बन्दै महारुद्र सहकारी, आफ्नै सफ्टवेयरमार्फत कारोबार सञ्चालन 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –१ श्रीखण्डस्थित महारुद्र बचत तथा ऋण सहकारी संस्था अब्बल बन्दै गएको छ । जिल्लामै रहेका कतिपय सहकारीहरु बन्द हुँदै गएका बेला महारुद्र सहकारी संस्थाले भने अब्बल सहकारीको दर्जा पाएको छ । 

सहकारी संस्थाले डिजिटलप्रविधिमार्फत कारोबार शुरु गरिसकेको संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । होराइजन टेक्नोलोजी प्रा.लि.बाट आफ्नै सफ्टवेयर खरीद गरेर अनलाइन कारोबार शुरु गरिसकेको उनले बताए । 

Atrya hospital

सहकारी संस्थामा कारोबार गर्ने सदस्यहरुको कारोबारको विवरण एसएमएसमार्फत उनीहरुको मोबाइलमा पठाउने गरिएको छ । सफ्टवेयर जडान गरेपछि प्रत्येक सदस्यहरुले आफ्नो कारोबारका बिषयमा मोबाइलबाट थाहा पाउने भएका सहकारी संस्थाका व्यवस्थापक खेमराज भट्टले बताए । 

सहकारी संस्थाले अनलाइन प्रणालीमार्फत कारोबार शुरु गरिसकेकाले यसले शेयर सदस्यहरुलाई समेत सहज हुने उनले बताए । उनले भने ‘सहकारीको हरेक हिसाबकिताबको लेखाजोखा गर्न सहज होस भनेर हामीले सफ्टवेयर जडान गरेका हौं । बचत गरेको, ऋण लगेको बिषयमा एसएमएसमार्फत जानकारी दिने गरेका छौं ।’

सहकारी संस्थालाई प्रविधिमैत्री बनाउनुका साथै यसको कार्यक्षेत्र विस्तारको अभियानमा आफूहरु लागिपरेको अध्यक्ष भट्टले बताए । उनले भने ‘सहकारीहरुलाई ग्रामीण बैंकको रुपमा विकास गर्ने भनेर लागिरहेका छौं । सहकारीप्रतिको भरोसा अझै बलियो बनाउने अभियानमा लागेका छौं ।’

महारुद्र बचत तथा ऋण सहकारी संस्थाले वडा नं १ का सबै टोलमा आफ्नो कार्य क्षेत्र विस्तारको तयारी समेत गरेको सहव्यवस्थापक भट्टले बताए । जिल्लाकै नमूना सहकारी रुपमा स्थापित गर्ने हिसाबले आफूहरु लागेको उनले बताए । 

२०५३ सालमा स्थापना भएको महारुद्र बचत तथा ऋण सहकारी संस्थासंग अहिले ३ सय १५ जना शेयर सदस्य रहेका छन् । १ सय ५० बालबचत रहेको सहकारीमा १५ संस्थागत बचत रहेको सहव्यवस्थापक भट्टले बताए । 
सहकारी संस्थासंग ७६ लाख ४५ हजार ७१८ रुपैयाँ चालु पूँजी रहेको छ भने ६४ लाख ६२ हजार २८४ रुपैयाँ ऋण लगानी रहेको छ । 

ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेको सहकारी संस्थाले डिजिटल प्रविधिमार्फत कारोबार शुरु गरेपछि शेयर सदस्यहरु पनि खुसी भएका छन् । डिजिटल प्रविधिमार्फत सेवा शुरु भएपछि शेयर सदस्यहरुलाई आफ्नो कारोबार थाहा पाउन सहज भएको सहकारी संस्थाका व्यवस्थापक मदनसिंह भाटले बताए । उनले भने ‘सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरु अहिले खुसी भएका छन् । आफ्नो कारोबारको बारेमा एसएमएसबाटै जानकारी पाउन थालेका छन् ।’
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update