बैतडी- बैतडी घर भएका तेक्वान्दो खेलाडी प्रकाश कोरियामा हुने तालिमका लागि छनोट भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ पालिगडा घर भएका तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रकाश साउद दक्षिण कोरियामा हुने १० दिने तालिमका लागि छनोट भएका हुन् । कोरियाको छुङजू एसआइमा टक्कीकोन कोरिया एसओसिएशनको आयोजनामा हुने तालिममा उनि कोरिया जान लागेका हुन् ।
तेक्वान्दो खेलका प्रशिक्षक समेत रहेका प्रकाश काठमाण्डौँको थानकोटमा रहेको चन्द्रागिरी तेक्वान्दो क्लवमा आवद्ध छन् । चन्द्रागिरी तेक्वान्दो क्लवले प्रत्येक वर्ष तालिमका लागि कोरिया पठाउने गरेको क्लवका सञ्चालक सुरेश रुम्बाले बताए । यो वर्ष तालिमका लागि प्रकाश लगायत क्लवबाट १० जना छनोट भएका उनले बताए ।
कोरियामा फेबरुरी २० तारिख बाट २९ सम्म तालिम सञ्चालन हुने बताइएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तेक्वान्दो खेलिसकेका प्रकाश बल्याक बेल्ट सेमत हुन् । उनले २०२१ मा भारतमा भएको १९ वर्ष मुनिको ५७ किलो क्याटागोरीको तेक्वान्दो प्रतियोगितामा गोल्डमेडल प्राप्त गरेका थिए । तेक्वान्दो खेलाडि प्रकाश खेल संगै काठमाणडौँमा इन्जिनियरिङपनि पढ्दै छन् ।
कोरियामा हुने तालिममा जानका लागि सबै तयारी पुरा भएको समेत प्रकाशले बताए । तालिम लिने अवसर पाउँदा खुसि लागेको पनि उनको भनाई छ ।