बैतडी –बैतडीको पाटन नगरपालिका–१ स्थित बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
केही दिन अघि उक्त ठाउँमा प्रहरी पोष्ट स्थापनाका लागि सरोकारवालाहरुले स्थलगत अवलोकन गरेका थिए । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको उपस्थितीलाई विस्तार गर्ने क्रममा बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
अस्थायी प्रहरी पोष्ट बयलचौरमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना परिचालन गरिएका प्रहरी निरीक्षक केसीले बताए ।
पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको अध्यक्षतामा भएको प्रहरी पोष्ट स्थापना कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा बिशिष्ट अतिथी रहेका थिए ।
अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजारा, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति लोकमणी अधिकारी, राष्ट्रिय भूमी आयोग बैतडीका अध्यक्ष धर्मसिंह ऐर, राष्ट्रिय अनुसन्धान कार्यालयका गोपाल भट्ट,इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठी लगायतका सरोकारवालाहरु बयलचौर पुगेका थिए ।
गाउँको शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना भएपछि स्थानीयहरु खुसी भएका छन् । उनीहरुले छलिया नृत्य प्रदर्शन गर्दै पाहुनाहरुलाई स्वागत गरेका थिए ।
बलयचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएसंगै पाटन नगरपालिका वडा नं १ र ७ का नागरिकलाई सहज भएको वडा अध्यक्ष ठगुन्नाले बताए ।
बयलचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना भएसंगै जिल्लाभरी अस्थायी प्रहरी पोष्टको संख्या ६ पुगेको छ । जिल्लामा ३ ओटा इलाका प्रहरी कार्यालय र २४ ओटा प्रहरीचौकी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केसीले जानकारी दिए ।