बैतडी –बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख एवं नेपाली कांग्रेसकी युवा नेतृ राधा ओझाले बैतडीमा सञ्चालित कपडा बैंकलाई न्यानो लुगा उपलब्ध गराएकी छिन् । कपडा बैंकमार्फत गरीब, विपन्न र असहाय नागरिकलाई कपडा वितरण गर्ने काम भइरहेकाले आफूले कपडा बैंकलाई न्यानो लुगा उपलब्ध गराएको उनले बताइन् ।
बैतडीमा गत महिनादेखि सञ्चालनमा रहेको कपडा बैंकमार्फत गरीब, विपन्न र असहाय नागरिकलाई न्यानो लुगा वितरण अभियान सञ्चालनमा रहेको छ । सोही अभियनामा मेलौलीकी निवर्तमान उपप्रमुख ओझाले २० सेट न्यानो लुगा उपलब्ध गराएको कपडा बैंक बैतडीका संयोजक महेशदत्त भट्टले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ११ हजार बढी रुपैयाँको लुगा कपडा बैंकलाई उपलब्ध गराएको उनले बताइन् । उनले भनिन् ‘हिजो म जनप्रतिनिधिको रुपमा नागरिकको सेवामा थिए । अहिले पनि विभिन्न अभियानमार्फत समाजसेवामा जोडिएकी छु । कपडा बैंकले थालेको अभियानमा मैले आफ्नोतर्फबाट सक्दो सहयोग गरेकी हुँ ।’
माया घर नेपाल बैतडी शाखाद्वारा सञ्चालित कपडा बैंकलाई अहिले सम्म २७ जनाले न्यानो लुगा उपलब्ध गराइसकेका छन् । कपडा बैंकमार्फत एक महिनाको अवधिमा २ सय ९० जनालाई न्यानो लुगा उपलब्ध गराइसकिएको संयोजक भट्टले बताए । गरीब, असहाय र विपन्न नागरिकलाई न्यानो लुगा उपलब्ध गराइएको हो ।
हुनेले दिएर सहयोग गरौं, नहुनेले अभियानमा सहभागिता जनाऔं भन्ने नारासहित कपडा बैंक सञ्चालनमा रहेकाले समस्यामा परेकाहरुलाई सहयोग गर्ने कार्य जारी रहेको संयोजक भट्टले बताए । समस्यामा परेकाहरुलाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म भएकाले आफूहरु यो अभियानमा सक्रिय रहेको उनले बताए ।