बैतडी–बैतडीको दशरथचन्द नगरपालिका १ श्रीखण्डस्थित धनकटे मन्दिरमा स्थानीयहरुले मञ्च निर्माण गरेका छन् । मन्दिरमा भक्तजनहरुलाई बस्न सहज होस भनेर स्थानीयहरुले चन्दा संकलन गरेर मञ्च निर्माण गरेका हुन् ।
श्रीखण्ड युवा जागरण अभियानको अगुवाईमा मञ्च निर्माण गर्ने कार्य सम्पन्न भएको अभियानका संयोजक विष्णुदत्त भट्टले बताए । मञ्च निर्माणका लागि रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका युवाहरुबाट ७३ हजार नगद संकलन भएको भट्टले बताए । चन्दा संकलन र स्थानीयहरुको जनश्रमदान गरेर ८२ हजारको लागतमा मञ्च निर्माण सम्पन्न भएको उनले बताए ।
धनकटे मन्दिरमा विवाहित छोरीबहिनीहरुले बोकाको बलिसहित पूजापाठ गर्ने चलन रही आएको छ । रातिको समयमा पूजापाठ गर्दा बस्नका लागि समस्या हुने भएकाले मञ्च निर्माण गरिएको भट्टले बताए ।