बैतडी- बिदामा घर गएका बैतडीका एक शिक्षक झण्डै एक महिनादेखि विद्यालयमा अनुपस्थित रहेका पाइएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ स्थित राष्ट्रिय मावि फाटीगडाका स्थायी शिक्षक जयबहादुर महरा झण्डै एक महिना देखि अनुपस्थित रहेका पाइएको हो ।
जय बहादुर अङ्ग्रेजी विषयका निमावि स्थायी शिक्षक हुन् । उनी फोन स्वीचअफ गरे घर बसेका बताइएको छ । शिक्षक लामो समय घर बसेपछि विद्यार्थीहरु पढाइबाट बञ्चित भएका छन् । शिक्षक महरा विद्यालयलाई कुनै जानकारी नदिएर बिदामा बसेका हुन् । शिक्षक महरा पुष २५ गते देखि माघ २ गते सम्म भएको बिदामा तराइ गएका थिए । माघ तीन गतेबाट विद्यालय खुलेपनि शिक्षक उपस्थित नभएका विद्यालयका प्रधानाध्यापक गंगादत्त भट्टले जानकारी दिए । शिक्षक महरा सम्पर्कमा नआएपछि विद्यालयले पत्र काटेर घर बस्नुको कारण माग गरेको छ ।
आइतबार एक पत्र जारी गरेर विद्यालय परिवारले कुनै सूचना बिना माघ तीन गते बाट अनुपस्थित रहेका महरालाई अनुपस्थित हुनुको कारण सहित तीन दिन भित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेको हो । स्पष्टीकरण पेश नगरे नियमाअनुसार कारबाही हुने समेत पत्रमा उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयमा कार्यरत केहि स्थायी शिक्षकहरुको मनपरिले बालबालिकाहरुको भविष्य अन्धकार भैरहेको भन्दै आभिभावकहरु आक्रोसित भएका छन् । दोगडाकेदारको कफलकोट घर भएका शिक्षक महरा हाल कञ्चनपुर बस्दै आएका बताइएको छ । शिक्षक महरा लामो समय किन घर बसेका हुन खुल्न सकेको छैन् । यता सगुनखबरले समेत सम्पर्क गर्नखोज्दा उनको फोन स्वीचअफ छ।