बैतडी- बैतडीको जय महाकाली कृषि सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं २ स्थित कृषि सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको हो । सहकारीका अध्यक्ष वीरबहादुर साउदको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको बताइएको छ ।
कार्यक्रममा सहकारीकी प्रबन्धक मूना चन्दले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन पेश गर्दै उनले संस्थाको कुल कारोबार २ करोड ८२ लाख रहेको बताइन् । वार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष चन्दले सहाकारीको विकासका लागि आवश्यक सहयोग गरिने बताएका छन्।
२०६९ सालमा स्थापना भएको जय महाकाली कृषि सहकारी संस्था लिमिटेडमा ८ सय ५९ सेयर सदस्य रहेका प्रबन्धक चन्दले बताइन् । उनका अनुसार सहकारीमा अहिले ३ सय बालबचत कर्ता ,६सय २६ व्यक्तिगत र १४ ओटा सामुदायिक बचत कर्ता रहेका छन् । सहकारीले १५ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्दै आएको समेत उनले बताइन् ।