बैतडी –बैतडीबाट निर्वाचित संघीय सांसद एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले खेल क्षेत्रको विकासमा सरकारले ध्यान नदिएको बताएका छन् । बैतडीको मेलौलीमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन सत्रमा बोल्दै सांसद भण्डारीले पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई यो सरकारले निरन्तरता नदिएको आरोप लगाएका छन् ।
सम्बोधनको अधिकांश समय सरकारको आलोचना गरेका सांसद भण्डारीले पहुँचको भरमा मात्रै बजेट विनियोजन भएको दाबी गरे । सरकारकै कारण खेल क्षेत्रका पूर्वाधारहरु विकास हुन नसकेका उनले आरोप लगाए ।
खेलकुदका माध्यमबाट नेपाल विश्व सामु चिनिएको भएपनि सरकारले अन्तर्राष्ट्रिय स्तरको एउटा मैदान समेत बनाउन नसकेको बताए ।
वर्तमान सरकारले लक्ष्य अनुुसार राजस्व समेत संकलन गर्न नसकेको बताउँदै पूर्व अर्थराज्यमन्त्री भण्डारीले पूँजीगत खर्च समेत निराशाजनक रहेको बताए ।
यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य जानकी ऐर बमले खेल क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताइन् । खेलकुद क्षेत्रको विकासका लागि प्रदेशबाट आवश्यक बजेट विनियोजन हुन नसकेको उनले बताइन् ।