बैतडी- बैतडीमा मन्दिरको पुनः निर्माणका लागि चन्दा संकलन गरिएको छ । डिलासैनी गाउँपालिका–७ मा रहेको कर्ण केदार मन्दिर मर्मतका लागि ९९ हजार पाँच सय ६९ रुपैँया चन्दा संकलन गरिएको समाजसेवी प्रदिपकुमार जोशीले बताए । सो संकलित रकमले मन्दिरको पुनर्निर्माण गरिने उनले बताए ।
सो मन्दिरमा स्थानीय जोशी, भट्ट र धामी समुदायका व्यक्तिहरुले पूजाआजा गर्दै आएका छन् । मन्दिर जिर्ण अवस्थामा रहेकाले पुनः निर्माणका लागि अभियान चलाएर रकम संकलन गरिएको युवा जोशीले बताए । संकलित रकम फागुन १० गते मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद जोशीलाई हस्तान्तरण गरिने बताइएको छ ।
कर्ण केदार मन्दिर स्थानीयहरुको आस्थाको धरोहर हो । डिलाशैनी गाउँपालिका ७ स्थित कर्ण केदार मन्दिरमा हरेक बर्ष दशैंको नवरात्रमा जात्रा हुने गर्दछ । असोज शुक्ल पक्षको षष्ठी र महासप्तमीका दिन जात्रा हुने मन्दिरमा चैत शुक्ल षष्ठी र सप्तमीमा जात्रा हुने गरेको बताइएको छ ।