बैतडी –पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको नागरिक अभिनन्दन हुने भएको छ । अनुभवी राजनीतिज्ञ एवं मदन पुरस्कार विजेता चन्दको फागुन ३ गते धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो ।
बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै साहित्यकार चन्दको जनस्तरबाट नागरिक अभिनन्दन गरिन लागेको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ ।
पूर्व प्रधानमन्त्री चन्दलाई ८४ बर्ष पुगेको अवसरमा धनगढीमा नागरिक अभिनन्दनको तयारी गरिएको हो । नेपाली साहित्य र राष्ट्र सेवाका विविध क्षेत्रमा अविस्मरणीय योगदान गरेको कदर स्वरुप चन्दलाई नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले बताए ।
बैतडी जिल्लाको सुर्नाया गाउँपालिका वडा नं २ कुर्कुट्यामा जन्मेका चन्दले चार पटक नेपालको प्रधानमन्त्री भएर राष्ट्रलाई योगदान दिएका छन् भने साहित्यमा पनि एक दर्जन भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।
नेपाली साहित्य र राजनीतिमार्फत गरेको योगदानको कदर गर्न, चन्दको व्यक्तित्व र कृतित्वलाई सम्मान गर्न, उनीसँग सम्बन्धित तथ्यहरू माथि प्रकाश पार्न र अग्रज स्रष्टाहरूको सम्मान गर्ने संस्कार विकास गर्ने उद्देश्यसहित चन्दको अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन मूल समारोह समितिका सदस्य हेमबाबु लेखकले जानकारी दिए ।
नागरिक अभिनन्दनको दिन ३२० पृष्ठको नागरिक अभिनन्दन ग्रन्थ सार्वजनिक गरिने छ भने अभिनन्दन पश्चात् स्मारिका प्रकाशन गरिने मूल समारोह समितिका सदस्य लेखकले बताए ।
चन्दको धनगढीको पार्कमोडदेखि सौंराइ स्क्वायर पार्टी प्यालेस, चटकपुरसम्म रथारोहरण गरिने जनाए । नागरिक अभिनन्दनमा विभिन्न झाँकी प्रदर्शन र अभिनन्दन ग्रन्थ लोकार्पण गरिने कार्यक्रम तय भएको छ ।
अभिनन्दन समारोहमा सरिक हुन् आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।