Sagun Khabar
बैतडीको ‘शर्माली गढी’मा पदमार्ग निर्माण 

बैतडी –बैतडीकोे शिवनाथ गाउँपालिका २ मा पर्ने ऐतिहासिक ‘शर्माली गढी’मा पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । गोर्खाली सेनाले कुमाउ विजय गर्ने बेलाको महत्वपूर्ण किल्लाको रुपमा रहेको शर्माली गढीमा पुग्नका लागि नेपाली सेनाले पदमार्ग निर्माण गरेको हो ।

१५ लाखको लागतमा नेपाली सेनाले २६३ मिटर लामो पदमार्ग निर्माण गरेको बैतडीस्थित हनुमानध्वज गुल्मका सहायक गुल्मपति गिरिजा भट्टले जानकारी दिए । शर्माली गढीको प्रचारप्रसार र संरक्षणका लागि पदमार्ग निर्माण गरिएको हो । 

Atrya hospital

यस्तै शिवनाथ गाउँपालिकाले गढीको ८ सय मिटर जति भागमा तारबारले घेरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । नेपाली सेनाले निर्माण गरेको पदमार्ग गाउँपालिकालाई हस्तान्तरण भईसकेको उनले बताए । 

सन् १७९० मा गोर्खाली सेनाले कुमाउ विजयका लागि लडाँई लड्दा शर्माली गढीमा गोर्खाली सेना बसेको स्थानीय जानकार शिवराज कलौनीले बताए । डडेल्धुरामा रहेको अमरगढी किल्लाको सहायक किल्लाको रुपमा शर्माली गढी रहेको उनले बताए । 

गोर्खाली सेनाले सन् १७९० मा कुमाउ विजयी अभियान चलाउँदा शर्माली गढीलाई मुख्य किल्लाको रुपमा लिएर सेना तैनाथ गरेको इतिहास रहेको कलौनीले बताए । उनले भने ‘शर्माली गढीमा अहिले पनि सेनाले बनाएका सुरङ, प्रवेशमार्गहरु देख्न सकिन्छ । उतिबेला नै निर्माण गरेका पर्खाल देख्न सकिन्छ ।’

तत्कालिन समयमा सेनाले लडाँईको बेला प्रयोग गरेका खुँडा खुकुरी समेत त्यो गढीमा केही बर्ष पहिला फेला परेको नागार्जुन माविका प्राचार्य महामलसिंह साउँदले बताए । उनले भने ‘पछिल्लो समयमा शर्माली गढीका पर्खाल, तत्कालिन समयमा बनाइएका प्रवेशद्वार सबै जीर्ण भएका छन् ।’

शर्मालीगढीबाट महाकाली नदी पार गरेर कुमाउ जान गोर्खाली सेनालाई सजिलो भएकाले शर्माली गढीमा सेनाको टुकुडी बसेको इतिहास रहेको जानकार कलौनीले बताए । उनले भने ‘अमरगढी किल्लापछि तत्कालिन डोटी राज्यको शर्माली गढी दोश्रो ठूलो किल्ला हो । यो करीब ५ सय वर्गफीटमा फैलिएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update