बैतडी –बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मुडाप गाउँलाई जलवायुमैत्री नमूना गाउँ बनाउने अभियान शुरु भएको छ । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले सञ्चालन गरिरहेको ग्रीन परियोजना अन्तर्गत मुडापलाई जलवायुमैत्री नमूना गाउँ बनाउने प्रयास भइरहेको रुडेस बैतडीका लेखा अधिकृत दिनेशप्रसाद जोशीले बताए ।
मुडापमा दुईओटा महिला सशक्तीकरण केन्द्र सञ्चालनमा रहेका र ती केन्द्रमार्फत जलवायुमैत्री गाउँ बनाउनका लागि विभिन्न क्रियाकलाप सञ्चालनमा रहेका जोशीले बताए ।
बिहीबार गाउँमा पुगेर दुवै समूहलाई मकै छिल्ने मेसिन र खोलाबाट पानी तान्नका लागि विद्युतीय मोटर हस्तान्तरण गरिएको जोशीले बताए । रुडेस बैतडीका उपाध्यक्ष हरिदत्त भट्टले समूहका सदस्यहरुलाई कृषि उपकरण हस्तान्तरण गरेका हुन् ।
मुडापमा जलवायुमैत्री नमूना गाउँ बनाउन १४ ओटा पोली हाउसमा सामूहिक तरकारी खेतीको शुरुवात समेत गरिएको छ । महिला सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरुको कृषिमार्फत जिविकोपार्जन गर्ने उद्देश्यसहित उपकरण हस्तान्तरण गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए ।
मुडापमा सिँचाइको अभाव रहेकाले खोलाबाट पानी तान्न विद्युतीय मोटरको व्यवस्थापन गरिएको हो भने किसानहरुको सहजताका लागि मकै छिल्ने मेसिन दिइएको हो ।
रुडेसमार्फत समूहमा कृषि उपकरण प्राप्त भएपछि सहज हुने सशक्तीकरण केन्द्रका सदस्यहरुले बताएका छन् । कृषि उपकरण र पानी तान्ने मोटर समूहमा प्राप्त भएपछि आफूहरुलाई कृषि कर्म गर्न सहज हुने सशक्तीकरण केन्द्रका संयोजक हिरा भाटले बताइन् ।
मुडाप गाउँका महिलाहरु पछिल्लो समयमा व्यवसायिक तरकारी खेतीमा लागेका छन् । उनीहरुलाई बेमौसमी तरकारी समेत फलाउन सहज होस भनेर ग्रीन परियोजनामार्फत सहयोग गरिएको लेखा अधिकृत जोशीले बताए ।
पानी तान्ने विद्युतीय मोटर प्राप्त भएपछि व्यवसायिक तरकारी खेतीमा लागेकाहरुलाई सिँचाइको सुविधा हुने सशक्तीकरण केन्द्रकी अर्का सहजकर्ता सीता भाटले बताइन् ।
रुडेस बैतडीले दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा जलवायुमैत्री नमूना गाउँ बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।