बैतडी –नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्माले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । बैतडीको पाटनमा बृहत स्वास्थ्य शिविर सञ्चालनको क्रममा बैतडी पुगेका सांसद शर्माले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले अहिलेको सरकार विदेशीको इशारा चलेको आरोप समेत लगाए । आफ्नो पार्टी समेत सहभागी रहेको सरकारप्रति असन्तुष्टी पोख्दै सांसद शर्माले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए ।
प्राकृतिक हिसाबले पनि कांग्रेस र एमालेको सरकार बन्नुपर्ने बताउँदै सांसद शर्माले यही परिस्थितीमा कांग्रेस सरकार रहीरहे धेरै घाटा व्यहोर्नुपर्ने बताए । उनले भने ‘अहिलेको गठबन्धनको सरकार जनताप्रति उत्तरदायी छैन् । मैले सडकदेखि सदनसम्म भन्ने कुरा यही हो ।’
अहिलेको सरकारले जनताका समस्या समाधान गर्न नसकेको सांसद शर्माको आरोप रहेको छ । राजनीतिलाई व्यापारीकरण भन्दा पनि समाजसेवातर्फ लैजानुपर्नेमा सांसद शर्माको जोड छ ।
काठमाण्डौं मेडिकल कलेजका सञ्चालक समेत रहेका डा. शर्माले आफूले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गमका जिल्लाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताए । अहिले सुदूरपश्चिमका जिल्लाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिहेको बताउँदै सांसद शर्माले मेडिकल कलेजमार्फत २ हजार भन्दा बढी स्वास्थ्य शिविर सञ्चालन गरिसकेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले राजनीतिक दलहरुलाई समाजसंग जोड्ने उद्देश्यका पार्टीको पहलमा स्थानीय सरकारसंगको समन्वय र काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताए । सबै राजनीतिक दलहरुले सामाजिक उत्तरदायित्वका कामहरु अघि बढाउनुपर्नेमा उनले बताए ।