बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्र रहेका आधारभूत विद्यालयहरुमा इन्टरनेट जडान कार्य शुरु गरिएको छ । ग्रामीण दूर सञ्चार विकास कोषको प्रयोग गरेर विद्यालयहरुमा इन्टरनेट जडान कार्य शुरु भएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
नेपाल दूर सञ्चार प्राधिकरण र सुर्नया गाउँपालिकाबीच भएको समझदारी अनुसार पालिकाभरी रहेका २७ ओटा आधारभूत विद्यालयहरुमा इन्टरनेट जडानका लागि उपकरण हस्तान्तरण गरिसकिएको अध्यक्ष कुँवरले बताए ।
ग्रामीण क्षेत्रका विद्यालयहरुमा इन्टरनेट पहुँच पुर्याउने उद्देश्यसहित विद्यालयहरुमा इन्टरनेट जडान कार्य भइरहेको हो । यसले विद्यार्थीहरुको सिकाइमा सहयोग पुर्याउनुका साथै विद्यालयहरुलाई प्रविधिमैत्री बन्न सहयोग पुग्ने विश्वास गरिएको सुर्नया गाउँपालिकाका शिक्षा सहायक गणेश कुँवरले बताए ।
सुर्नया गाउँपालिकाभरी ४० ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती मध्ये २७ ओटा आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्याउन पहल भइरहेको अध्यक्ष कुँवरले बताए ।
विद्यालयहरुलाई ब्रोडब्याण्ड इन्टरनेट जडानका लागि उपकरण हस्तान्तरण गरिसकिएको र केही विद्यालयमा जडान समेत भइसकेको शिक्षा सहायक कुँवरले बताए ।