Sagun Khabar
बैतडीमा जंगली बँदेलले आक्रमण गर्नथालेपछि स्थानीयबासिन्दा त्रसित  

बैतडी–पछिल्लो समयमा बैतडीमा मानवबस्तीमै पुगेर जंगली बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । जंगली बँदेलबाट बालीनाली जोगाउन मुस्किल भएका बेला बँदेलले मानिसबाट आक्रमणका घटना बढ्दै गएका छन् । 

चालु आर्थिक बर्षमा मात्रै जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भइसकेका डिभिजन वन कार्यालयको तथ्यांक छ । मानवबस्ती नजिकै जंगली बँदेलले उनीहरुलाई आक्रमण गरेर घाइते बनाएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए । उनले भने ‘पछिल्लो समयमा जंगली बँदेलले मानिसमाथि आक्रमणका घटना बढेका छन् । यो बर्षमात्रै चारजनामाथि जंगली बँदेलले आक्रमण गरेको छ ।’

Atrya hospital

जंगली बँदेलको आक्रमणबाट २३ ओटा पशुचौपाया क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्यांक छ । 

जंगली बँदेलले मानवबस्तीमै पसेर आक्रमण गर्न थालेपछि स्थानीयहरुमा त्रास बढेको पाटन नगरपालिका वडा नं ५ की वडा सदस्य पार्वती चन्दले बताइन् । माघ दोश्रो हप्तामात्रै पाटन ५ धनचुलीमा जंगली बँदेलको आक्रमणबाट एक वृद्ध महिला घाइते भएकी थिइन् । 

मानवबस्तीमै पसेर जंगली बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयहरुमा त्रास बढेको उनले बताइन् । बथानमा आउने जंगली बँदेलहरुले बालीनाली नष्ट गर्नुका साथै मानिसहरुमाथि समेत आक्रमण गर्न थालेपछि निकै समस्या भएको उनले बताइन् । 

नेपाल सरकारले जंगली बँदेललाई हानिकारक वन्यजन्तुको सूचीमा राखेको छ । जंगली बँदेलले बालीनाली नष्ट गरेमा मार्न पाउने उल्लेख गरिएको छ । 

जंगली बँदेलमात्रै नभएर बाँदरले समेत बालीनाली नष्ट गरिरहेका छन् । पछिल्लो समयमा बाँदरहरुले समेत मानिसमाथि आक्रमण गर्ने गरेका घटनाहरु बाहिर आउन थालेका छन् । यो बर्षमात्रै बालीनालीमा क्षति पुर्याएको भन्दै २ सय बढी फाइलहरु डिभिजन वन कार्यालयमा दर्ता भएका छन् । जंगली जनावरहरुले बालीनालीमा क्षति पुर्याएकाले किसानहरुले डिभिजन वन कार्यालयमा फाइल दर्ता गराएका हुन् । 

मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको छ । वन्यजन्तुले मानिस तथा बालीनालीमा क्षति पुर्याएका छन् भने मानिसहरुले पनि वन्यजन्तु मार्ने गरेका छन् । यसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update