बैतडी-बैतडीको दोगडाकेदारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित श्रीकेदार माविमा आइतबारबाट सुरु भएको विशेषज्ञ सहितको दुई दिने निः शुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको हो ।
दुई दिने शिविरमा २५ सय बढीले सेवा लिएका आयोजक श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले जानकारी दिए । शिविरमा २५ सय २२ जनाले उपचार सेवा पाएका उनले बताए ।
यस्तै १ सय ३ जनाको काठमाण्डौमा उपचार हुने बताइएको छ । शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटील समस्या देखापरेकाले उनिहरुको काठमाण्डौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको भट्टले बताए । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको सहयोग, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटको आयोजनामा बृहत स्वास्थ्य शिवीर लागेको थियो ।
शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भएको हो । यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो । शिविरमा स्वास्थ्य निर्देशनालयले निःशुल्क प्राप्त हुने औषधिहरु दिएको थियो भने काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरेका थिए ।