बैतडी- बैतडीको दोगडाकेदामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित श्रीकेदार माविमा आइतबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।
स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको सहयोग, काठमाण्डौं मेडिकल कलेजको प्राविधिक सहयोग र श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटको आयोजनामा बृहत स्वास्थ्य शिवीर सुरु भएको श्री केदार संस्कृती संरक्षण सामाज पिपलकोटका अध्इक्ष सुरेन्द्र प्रशाद भट्टले जानकारी दिए । काँग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद सुनिल शर्माको प्रमुख आतिथ्यतामा निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गरिएको उनले बताए ।
उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दोगडाकेदार गाउँपालिकाका उापध्यक्ष पावर्ती कार्की, पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा, अन्य सरोकारवाला निकाय लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । आज पहिलो दिन ५ सय ४९ जनाले सेवा लिएका छन् । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक,कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भैरहको छ ।
यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत सञ्चालन भइरहेको हो । शिविरमा स्वास्थ्य निर्देशनालयले निःशुल्क प्राप्त हुने औषधिहरु दिइरहेको र काठमाण्डौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरिरहेको हो । भोलि पनि शिविर सञ्चालन हुने आयोजकले जनाएको छ। बिहान ९ बजेबाट हुने शिविरमा आएर सेवा लिन पनि आग्रह गरिएको छ ।