बैतडी- प्रथम पियु अखिल कप फुटसल प्रतियोगिता हुने भएको छ । देशकै दोस्रो ठूलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्व विद्यालय भित्रका कलेजहरुको बिचमा यहि माघ २८ र २९ गते अन्तर कलेज प्रथम अखिल कप फुटसल प्रतियोगिता हुने भएको हो ।
अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा काठमाण्डौ स्थित धन्यतरी फुटसल ग्राउन्डमा प्रतियोगिता हुने अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक उमेश भण्डारीले जानकारी दिए । यो प्रतियोगितामा पोखरा विश्वविद्यालयबाट आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले सहभागिता जनाउन पाउने छन ।
प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको बिजेताले रु एक लाख नगद र उपबिजेताले रु ६० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक भण्डारीले बताए । अनेरास्ववियुले अब हरेक वर्ष यो प्रतियोगीता सञ्चालन गर्ने समेत उनले बताए ।
यस अघि मदन भण्डारी मेमोरियल कपको नाममा आयोजना गरिएको थियो भने यो बर्ष देखि अखिल कपको रुपमा आयोजना भैरहेको हो । यस अघि यो प्रतियोगिता माघ २१ र २२ गते गर्ने कार्यतालिका रहे पनि अधिकांश कलेजहरुमा प्री– बोर्ड परिक्षा संचालन भईरहेकोले एक हप्ता पछि सारिएको आयोजकले जनाएको छ।
हाल अनेरास्ववियु पोखरा विश्वविद्यालय संगठन बिस्तार, कलेजहरुको सम्मेलन र रचनात्मक कार्यक्रममा तालिका बनाएर अगाडि बढिरहेको पोखरा विश्वविद्यालयको समन्वयकर्ता तथा अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।