बैतडी –बैतडीमा कपडा बैंकमार्फत जाडोमा न्यानो लुगा वितरण भइरहेको छ । माघ पहिलो सातादेखि सञ्चालनमा आएको कपडा बैंकमार्फत असहाय तथा गरीब नागरिकहरुलाई कपडा प्रदान गर्ने गरिएको कपडा बैंकका संयोजक महेशदत्त भट्टले बताए ।
अहिलेसम्म २सय ५० भन्दा बढी व्यक्तिहरुलाई बैंकबाट न्यानो लुगा वितरण भइसकेको उनले बताए । कम्बल, टाउजर,ज्याकेट,स्वीटर, टोपी लगायतका न्यानो लुगाहरु वितरण गर्ने कार्य भइरहेको उनले बताए ।
एकसरो लुगा समेत लगाउन नपाएका नागरिकलाई लक्षित गरेर कपडा बैंकको स्थापना गरिएको भट्टले बताए । उनले भने ‘हामीले समुदायका रहेका गरीब, असहायहरुलाई सहयोग पुर्याउनका लागि यो अभियान सञ्चालन गरेका हौं । यसमा धेरै क्षेत्रबाट सहयोग भइरहेको छ ।’
कपडा बैंकमा विभिन्न ठाउँबाट सहयोग प्राप्त भइरहेको र प्राप्त भएका कपडा गरीब तथा असहाय नागरिकलाई वितरण गर्ने कार्य भइरहेको बताए ।
शाहीलेकस्थित कपडा बैंकमा कपडा लैजानको घुइँचो लाग्ने गरेको सञ्चालक नारद भट्टले बताए । जाडोमा न्योनो लुगा लैजानेको संख्या धेरै रहेको उनले बताए । बैंकमार्फत विपन्न, दलित, गरीब तथा असहाय नागरिकलाई मात्रै कपडा दिने गरिएको उनले बताए ।
जिल्लामा परोपकारको काम शुरु भएकाले यसमा आफूले समेत सक्दो सहयोग गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।
कपडा बैंकले गरीब तथा असहाय नागरिकलाई सहयोग पुर्याएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । आफूले पनि उक्त बैंकमा सक्दो सहयोग गरेको उनले बताए । उनले भने ‘समुदायमा एकसरो लुगा लगाउन नपाएका व्यक्तिहरु पनि छन् । उनीहरुका लागि यो बैंकले निकै सहयोग गरिरहेको छ ।’
हुनेले दिएर सहयोग गरौं, नहुने लगेर सहभागिता जनाऔं भन्ने नारासहित कपडा बैंकमार्फत लुगा वितरण गर्ने कार्य भइरहेको संयोजक भट्टले बताए । माया घर नेपाल जिल्ला शाखाले कपडा बैंक सञ्चालन तथा व्यवस्थापन गरिरहेको उनले बताए ।
अहिले उक्त बैंक सञ्चालनका लागि ४ जना युवाहरु सक्रिय भएका छन् । यसमा सबैको सहयोग भइरहेको उनले बताए ।
विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएका युवाहरुले पछिल्लो समयमा कपडा बैंक स्थापना गरेका हुन् । अहिले सम्म ७५ ओटा सामाजिक अभियानहरु सञ्चालन भइसकेका संयोजक भट्टले बताए । आर्थिक अभावमा उपचार गर्न नसकेका बिरामीहरुका लागि आर्थिक संकलन अभियानसहित विभिन्न सामाजिक अभियान सञ्चालन गरिएको भट्टले बताए ।