Sagun Khabar
बैतडीका विभिन्न स्थानमा फोन सेवा अवरुद्ध 

बैतडी –लगातारको बर्षाका कारण बैतडीका विभिन्न स्थानमा मोबाइल सेवा अवरुद्ध भएको छ । सोलार प्यानलबाट चार्ज हुने टावरहरुमा चार्ज नहुँदा मोबाइल नेटवर्कमा समस्या आएको हो । 

जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न ठाउँमा मोबाइल सेवा अवरुद्ध भएको स्थानीयबासीहरुले बताएका छन् । बर्षा शुरु भएदेखि मोबाइल सेवा अवरुद्ध भएको पुर्चौडी नगरपालिका ३ नकालीका विरेन्द्र बोहराले जानकारी दिए । उनले भने ‘घाम लागेको बेला मात्रै मोबाइलले काम गर्छ । अन्य समयमा फोन नेटवर्क नआउँदा समस्या भईरहेको छ ।’ 

Atrya hospital

मोबाइल सेवा अवरुद्ध हुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको उनले बताए । मोबाइलमा नेटवर्क नहुँदा खबर आदानप्रदानमा समेत समस्या भएको छ । 

यस्तै जिल्लाको तल्लोसोराड क्षेत्रको शिवनाथ र पञ्चेश्वरमा पनि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । यसैगरी डिलाशैनी र दोगडाकेदारका विभिन्न स्थानमा पनि मोबाइल सेवा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । 

जिल्लाभरी नेपाल टेलिकमका ३४ ओटा टावर रहेका र ती मध्ये २५ जतिमा सोलारबाट चार्ज गर्ने गरिएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए । लगातारको बर्षाले सोलार चार्ज नहुँदा नेटवर्कमा समस्या भएको उनले बताए । 

उपकरण चार्ज नहुँदा धेरै ठाउँमा टावरले काम नगरेको हुन सक्ने कार्कीले जानकारी दिए । अग्लो डाँडामा राखिएका टावरमा विद्युत पहुँच पुर्याउन समेत समस्या भएको उनले बताए । अन्य कारण भन्दा पनि बर्षाले सोलार चार्ज नहुँदा केही मोबाइल सेवा अवरुद्ध भएको हुन सक्ने उनको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update