Sagun Khabar
कांग्रेसको संगठन विस्तार गर्दै ‘समुदायमा कांग्रेस’अभियान 

बैतडी–बैतडीमा नेपाली कांग्रेसले संगठन विस्तारका लागि ‘समुदायमा कांग्रेस’अभियान सञ्चालन गरिरहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार प्रत्येक पालिकामा पुगेर अभियान सञ्चालन भइरहेको नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए । 

अभियान अन्तर्गत जिल्लाको टोली र वडास्तरीय टोली खटिएको उनले बताए । केन्द्रीय प्रतिनिधिसहितको टोलीले पञ्चेश्वर, शिवनाथ, मेलौली र पाटनमा समुदायका नागरिकसंग भेटघाट गरिसकेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । केन्द्रीय प्रतिनिधि हरिप्रसाद बोहराको उपस्थितीमा पालिकाहरुमा अभियान जारी रहेको उनले बताए । 

Atrya hospital

यस्तै ८४ ओटै वडामा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि खटाएको र वडाका प्रतिनिधिहरुले वडास्तरमा अभियान सञ्चालन गरिरहेको सचिव जोशीले बताए । 

समुदायमा जाने र समुदायका कुरा सुन्नका लागि ‘समुदायमा कांग्रेस’अभियान सञ्चालन गरेको कार्यवाहक सभापति बिष्टले दाबी गरे । उनले भने ‘हामीले नेपाली कांग्रेसप्रति नागरिकका प्रश्न, गुनासा,सुझाव सुन्नका लागि यो अभियान सञ्चालन गरेका हौं । अभियानमा नेपाली कांग्रेसलाई सुधारका लागि सुझावहरु प्राप्त भइरहेका छन् ।’

समुदायमा कांग्रेस अभियानमार्फत संगठन सुदृढीकरण गर्ने र आगामी दिनमा कांग्रेसलाई बलियो बनाउनका अपनाउनुपर्ने उपायका बारेमा छलफल गर्ने गरिएको कार्यवाहक सभापति बिष्टले बताए । 
शनिबार पाटन नगरपालिकाको वडा नं २ सिलंगामा अभियान अन्तर्गत समुदायसंग छलफल गरिएको उनले बताए । 

यस्तै पाटनमै नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले पनि अभियानका बिषयमा जानकारी लिएका छन् । ‘समुदायमा कांग्रेस’अभियानका सुदूरपश्चिम संयोजक रहेका सहमहामन्त्री आङदम्बेले जिल्लाहरुमा सञ्चालन भइरहेको अभियानका बिषयमा जानकारी लिइरहेको बताए । 

लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु आवश्यक रहेको बताउँदै सहमहामन्त्री आङदम्बेले यसका लागि समुदायका कांग्रेसका कुरा भन्नुपर्नेमा जोड दिए । 

यस्तै नेपाल प्रेस युनियनको केन्द्रीय टोलीसंग समेत बैतडी कांग्रेसले समुदायमा कांग्रेस अभियानका बिषयमा छलफल गरेको छ । शनिबार बिहान पाटनमा नेपाल प्रेस युनियन बैतडीले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम समुदायमा कांग्रेस अभियानका बिषयमा समेत छलफल भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update