Sagun Khabar
बैतडीका ४ ओटै नगरपालिकामा फोहर व्यवस्थापनमा चुनौती 

बैतडी –बैतडीका नगरपालिकाहरुमा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती भएको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले स्थापनाकाल देखि नै फोहर व्यवस्थापनका लागि डम्पिङ साइड बनाउन सकेको छैन् । राज्य पुनर्संरचना पछि नगरपालिकाको क्षेत्र विस्तार हुँदा फोहर व्यवस्थापनामा झन् समस्या देखिएको छ । अहिले सदरमुकाम नजिकै सडक छेउमै फोहर राख्ने गरिएको नगरपालिकाका विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

नगरपालिकाले डम्पिङ साइड बनाउनका लागि जमीन खरीद गर्ने योजना बनाएको भएपनि जमीन नपाउँदा समस्या भएको उनले बताए । उनले भने ‘नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न जमीन खोजीरहेको छ । जमीन नपाउँदा डम्पिङ साइड निर्माणमा समस्या भएको छ ।’ 

अहिले नगरपालिकाले सदरमुकामा सडक नजिकै फोहर व्यवस्थापन गरिरहेको छ । सडक छेउमा नगरपालिकाको फोहर थुुपार्दा समस्या भएको नागरिकहरुले बताएका छन् । नगरपालिका स्थापनाकालदेखि नै फोहर व्यवस्थापनमा चुकेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी दिए । उनले भने ‘नगरपालिकाले समयमै फोहर व्यवस्थापनमा ध्यान नदिँदा समस्या भएको छ । सबै प्रकारका फोहर एकै ठाउँमा राख्दा झन जोखिम बढाएको छ ।’

Atrya hospital

दशरथचन्द नगरपालिकाले २०५४ सालयता अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान नहुँदा बेलाबेलामा फोहर व्यवस्थापनमा समस्या आउने गरेको छ ।

यस्तै जिल्लाको पाटन नगरपालिकासंग पनि डम्पिङ साइडको अभाव रहेको छ । नगरपालिकाले पछिल्लो समयमा पाटन बजार नजिककै घाङल खोलामा फोहर फाल्ने गरेको छ । बजारबाट निस्केको फोहर खोलामा फाल्ने गरिएको हो । यो फोहर सिधै सुर्नया नदीमा मिसिने गरेको छ । पाटनमा नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माण गर्ने भनेपनि अहिले सम्म डम्पिङ साइड निर्माण गर्न सकेको छैन् । नगरपालिकाले अहिले घाङल खोलामा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले बताए । 

जिल्लाको नयाँ नगरपालिकाका रुपमा रहेका मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा पनि डम्पिङ साइडको अभाव छ । नगरपालिकाले चालु आर्थिक बर्षमा डम्पिङ साइड निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

जिल्लाको पुरचौंडी नगरपालिकाले पनि अहिले सम्म अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । बजारको फोहर व्यवस्थापन नहुँदा समस्या भएको स्थानीयबासिन्दाहरुले बताएका छन् । 

घर तथा बजारबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नु उचित हुन्छ । फोहरलाई व्यवस्थापन गर्न सकिएन भने यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । हाम्रोमा सिधै फोहर खोलामा फ्याक्ने, पोल्ने, सबै फोहरलाई एउटैमा मिसाउने भईरहेको छ । यसले गर्दा समस्या निम्त्याउन सक्छ ।’ स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने,‘फोहर व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । नगरपालिका मात्रै नभएर यसमा नगरबासीहरुको पनि ध्यान जानुपर्छ ।’

फोहर व्यवस्थापन नभएकै कारण विभिन्न खालका सरुवा रोगहरु संक्रमण फैलिने गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update