बैतडी–यो बर्ष लामो समयपछि हिउँदे बर्षा भएको छ । बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा बुधबार रातिदेखि हिउँदे बर्षा भएको हो । गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए ।
लामो समयपछि भएको हिउँदे बर्षाले बालीनालीमा फाइदा पुर्याएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । यो बर्षाले गहुँबाली, तरकारी बाली र फलफूलका बिरुवाहरु हुर्कन सहयोग पुग्ने उनले बताए । उनले भने ‘लामो समयपछि भएको हिउँदे बर्षाले सिँचाइको काम गरेको छ । यो बर्षा हिउँदेबालीका लागि निकै लाभदायक छ ।’
लामो समयपछि भएको बर्षाले बालीनालीलाई फाइदा पुगेको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । खडेरीले सुक्नै लागेको बालीमा यो बर्षाले फाइदा पुगेको उनले बताए ।
हिउँदे बर्षासँगै उच्च लेकाली क्षेत्रहरुमा हिमपात पनि शुरु भएको छ । बैतडीको खोड्पे, श्रीभावर लगायतका क्षेत्रमा हल्का हिमपात हुन थालेको स्थानीयहरुले बताएका छन् । बर्षा र हिमपातले चिसो बढ्न थालेको छ ।
चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।