बैतडी–बैतडीको डिलाशैनीमा किसानहरुले पालेका पशुचौपायालाई बौलाहा कुकुरले टोकेको छ । गाउँपालिका वडा नं ३ कुल्थडा टोलमा किसानहरुले पालेका गाईभैंसीलाई बौलाहा कुकुरले टोकेको हो ।
मंगलबार दिउँसो बौलाहा कुकुरले तीनओटा पशुचौपायालाई टोकेपछि स्थानीयहरुले कुुकुरलाई नियन्त्रणमा लिएका छन् ।
बौलाहा कुकुरले टोकेका पशुचौपायाहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्य शुरु भइसकेको डिलाशैनी गाउँपालिकाका पशु विकास अधिकृत शंकरबहादुर साउँदले बताए । पशुचौपायाहरुमा रेबिज रोग लाग्न नदिन खोप दिने कार्य शुरु गरिएको उनले बताए ।
आफूले पालेका कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउन पशु विकास अधिकृत साउँदले आग्रह गरे । आफ्नो वडामा रहेका पशु सेवा शाखामा गएर खोप लगाउन आग्रह गरिएको उनले बताए ।
बौलाहा कुकुरले मानिस तथा पशुचौपायालाई टोकेमा रेबिज लाग्ने गर्दछ । रेबिजबाट बच्नका लागि खोप मात्रै उपाय भएकाले आफूले घरमा पालेका कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउनुपर्नेमा साउँदले जोड दिए ।