बैतडी–बैतडीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा घाइते भएका तीन जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ८ का गणेश बिष्ट र घुमरा बिष्ट तथा चालक भुपेन्द्र बिष्टलाई थप उपचारका लागि मंगलबार साँझ नै धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।
अन्य घाइते ४ जना जिल्ला अस्पताल बैतडीमा उपचार पछि डिस्चार्ज भइसकेका उनले बताए ।
दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट दोगडाकेदार गाउँपालिका ८ माल्लेक जाँदै गरेको सु प्र ०१००१ ज १५३७ नम्बरको बोलेरो जिप कटौजपानीमा मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो ।
जिप दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका ८ कटौंजपानीकी १५ बर्षीया मनिषा बिष्टको घटनास्थलमै मृत्यु भएको थियो भने चालकसहित सात जना घाइते भएका थिए ।
जिपको पट्टा भाँचिदा अनियिन्त्रत भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले बताए । घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।
जिप सडकबाट ५० मिटर तल खसेको थियो ।