Sagun Khabar
बैतडी : ‘समुदायमा कांग्रेस’अभियान शुरु 

बैतडी–शहीद दिवसको अवसरमा पारेर बैतडीमा ‘समुदायमा कांग्रेस’अभियान शुरु गरिएको छ । कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि अभियानको शुरुवात गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा बैठक बसेर शहीद दशरथचन्दको जन्मघरबाट अभियान थालनी गरिएको उनले बताए । शहीद दिवस भएकाले शहीद दशरथ चन्दको शालिकामा माल्यार्पण गरेर अभियान शुरुवात गरिएको सचिव जोशीले बताए । 

Atrya hospital

नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि हरिप्रसाद बोहरा प्रमुख अतिथी रहेका थिए । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीका साथै सदस्यहरु, पार्टीका महाधिवेशन प्रतिनिधि, भातृ संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो । 

जिल्लाका ८४ ओटै वडामा अभियान सञ्चालन गरिने र सदरमुकामबाट यसको शुरुवात गरिएको नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरहबहादुर बिष्टले बताए । 

जनताका अपेक्षा, गुनासो र सुझाव संकलन गर्नुका साथै सेवा प्रवाह र विकास निर्माणका कामको अवस्थामा बारेमा अभियानका दौरान जानकारी लिइने कार्यवाहक सभापति बिष्टले बताए । 

केन्द्रीय प्रतिनिधिको सहित जिल्लाको टोलीले १० ओटै स्थानीय तहमा पुगेर अभियान अन्तर्गत कार्यक्रम गर्ने सचिव जोशीले बताए । यसका साथै जिल्लाले खटाएका प्रतिनिधिहरुले वडास्तरमा कार्यक्रम सञ्चालन गर्ने उनले बताए । 

अभियानका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पनि दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा तेजबहादुर चन्द र कमला चन्दलाई प्रतिनिधि खटाएको प्रदेश कार्यसमितिले प्रदेश सभा क्षेत्र (ख) मा टेकराज जोशीलाई प्रतिनिधि खटाएको छ । 

अभियानमार्फत कांग्रेसले कार्यकर्तामा जनजागरण ल्याउने र संगठन विस्तार गर्ने योजना रहेको सचिव जोशीले बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update