बैतडी- नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका बैतडीमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । बैतडी लगायत सुदूरपश्चिमका ९ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको हो ।
बैतडीको अभियान सफल पार्नका लागि नेपाली कांग्रेस कञ्चनपूरका पूर्व पार्टी सभापति एवं केन्द्रीय सदस्य हरि बहादुर बोहरा तोकिएका नेपाली कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्दले जानकारी दिए । जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् ।
१६ गते देखि जिल्लाका ८४ ओटै वडामा अभियान सञ्चलालन हुने उनले बताए । सबै वडामा प्रतिनिधि खटाएर कार्यक्रम सञ्चालन गर्नका लागि तयारी तिब्र पारिएको बताइएको छ । अभियान मार्फत समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझाव संकलन गरिने र समाधानका लागि आवश्यक पहल गरिने सचिव चन्दले बताए ।
माघ १६ बाट समुदायमा कांग्रेस अभियान सुरुभइ २६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा अभियान समाप्त हुने बताइएको छ । बैतडीका ८४ ओटै वडामा अभियान सम्पन्न गर्नका लागि जिल्लाका नेता कार्यकर्ताहरुलाई खटाइने बताइएको छ ।