Sagun Khabar
बैतडीमा लेन्थवर्करहरुले तोडे अनसन 

बैतडी–गएको असार १८ गतेदेखि पारिश्रमिकको माग गर्दै बैतडीमा अनसन बसेका लेन्थवर्करहरुले बुधबार अनसन तोडेका छन् । पाटन–पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करहरुले २१ महिनादेखि पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक पाउनुपर्ने भन्दै सो सडकमा काम गर्ने १२ जना लेन्थवर्करहरु अनसनमा बसीरहेका थिए । आफूहरुका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सरोकारवालाहरुले जनाएपछि तत्कालका लागि आफूहरुले अनसन स्थगित गरेको लेन्थवर्कर जयराम भुलले बताए । आफूहरुको आन्दोलन भने जारी रहेको उनले बताए । उनले भने ‘हामीले अनसन बसेको २१ दिन सम्म पनि माग पूरा भएन् । हामीले आन्दोलनको स्वरुप बदल्ने निर्णय पनि गरेका छौं । तत्कालका लागि अनसन स्थगित गरेका छौं ।’

लेन्थवर्करहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले लेन्थवर्करहरुसंग वार्ता गरेपछि उनीहरुले अनसन तोडेका समितिका सदस्य एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । तत्कालका लागि लेन्थवर्करहरुलाई राहत स्वरुप पाटन नगरपालिका र मेलौली नगरपालिकाले डेढ÷डेढ लाख रुपैंया प्रदान गर्ने सहमति पनि भएको उनले बताए । उनले भने ‘लेन्थवर्करका समस्या समाधानका लागि हामीले पनि प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गर्ने भनेका छौं । उनीहरुका माग सम्बोधनका लागि पहल गर्नेछौं ।’

Atrya hospital

बुधबार इलाका प्रहरी कार्यालयमा जिल्लास्थित सरोकारवाला निकाय, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, लेन्थवर्कर लगायतको उपस्थितीमा अनसन तोड्ने सहमति भएको लेन्थवर्कर भुलले बताए । उनले भने ‘हामीले हाम्रा माग यथावत राखेका छौं । आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरेका हौं ।’

पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले अनसनमा बसेकाहरुलाई जुस वितरण गरेर अनसन तोडाएका हुन् । पाटन –पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि लेन्थवर्करहरुले पारिश्रमिक पाएका छैनन् । लामो समयदेखि पारिश्रमिक नपाउँदा आफूहरुलाई घरपरिवार चलाउन समेत समस्या भएको भन्दै लेन्थवर्करहरु आन्दोलित भएका हुन् । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update