बैतडी- बैतडीमा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइदै छ । जिल्लाका दशवटै स्थानीय तहमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइन लागिएको हो । माघ १ गते बाट खोप अभियान सञ्चालन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख श्याम खडकाले जानकारी दिए ।
प्रत्येक पालिकाको पशु शाखा तथा खोपकर्ताहरु परिचाल गरेर अभियानको रुपमा पिपिआर विरुद्धको खोप दिइन लगिएको उनले बताए । पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन भएको हो ।
पिपिआर रोगबाट बचाउनका लागि किसानहरुले पालेका बाख्रालाई निःशुल्क खोप लगाइन लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका पशुप्रशार महेश भट्टले बताए । जिल्लाका लागि ९० हजार डोज खोप प्राप्त भएको बताइएको छ । खोपका लागि सबै पालिकामा अहिले खोपकर्ताहरु परिचालन गरिएका छन् । उनिहरुले गाउँगाउँमा गएर खोप लगाइरहेका हुन् ।
बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । जिल्लाभरि किसानले करिब डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका तथ्याङक छ । बाख्राहरुलाई पिपिआर विरुद्धको खोप लगाउन पनि सबै किसानलाई आग्रह गरिएको छ ।