बैतडी- बैतडीको पाटन नगरपालिका रोजगार शाखाका कर्मचारीको लापरबाहीले एक जनाको उडान रोकिएको छ । रोजगार शाखाका कर्मचारीको लापरबाहीले जिल्लाको पाटन नगरपालिका वडा नं ६ तिल्कुडाका सुरज विष्टको कतार उडान रोकिएको हो ।
१० वर्ष कतारमा काम गरेका सुरज केहि महिना देखि घरमा थिए । उनले फेरि वैदेशिक रोजगारीका लागि कतार जाने निधो गरेर पाटन नगरपालिकाबाट पुनः श्रमस्वीकृति लिका थिए । तर नगरपालिकाका कर्मचारीको लापरबाहीले उनी कतार जानबाट बञ्चीत भएका हुन् । कर्मचारीहरुका कारणले आफ्नो कतार उडान रोकिएको उनले बताए ।
रोजगार शाखाबाट पाएको श्रमस्वीकृति लगेर सुरज काठमाण्डौँ हिँडे ।तर नगरपालिकाले दिएको सो श्रमस्वीकृति नभएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनका कर्मचारीले उनलाई फिर्ता पठाएका बताइएको छ । उनले भने, ‘म १० वर्ष देखि कतारमा काम गर्दथे, ३ महिनाको बिदामा घर आएको हुँ, मैले नगरपालिकाबाट पुनः श्रमस्वीकृति लिए, नगरपालिकाको रोजगार शाखाका कर्मचारीले पुरानै श्रमस्वीकृतिको कागजपत्र दिएर पठायो,कतारका लागि टिकट काटे, माघ ४ गतेको उडान थियो, म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थिए । त्यहाँबाट अध्यागमनका कर्मचारीहरुले श्रमस्वीकृति नभएको भन्दै फिर्ता पठाइ दियो, सामानहरु कतार पुग्यो मैले जान पाएन्, मैले साह्रै दुख पाए ।’ कर्मचारीले नयाँ श्रमस्वीकृति दिएर पठाउनु पर्नेमा पुरानै प्रिन्ट गरेर दिदा आफुले समस्या भोगेको उनले बताए ।
कर्मचारीले श्रमस्वीकृतिको कागजपत्रमा गरेको गल्तीले आफुले दुख पाएको उनले बताए ।
लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गर्न माग
श्रमस्वीकृती दिदा लापरबाही गरेका रोजगार शाखाका कर्मचारीलाई कारबाही गर्न माग गरिएको छ । पीडित विष्टले कर्मचारी माथि कारबाही गर्न नगरपालिकालाई निवदेन दिएका हुन् । आइतबार नगरपालिकाका प्रमुख प्रशासकी अधिकृतलाई कर्मचारी माथि आवश्यक छानविन गरि कारबाही गर्न माग गर्दै उनले निवदेन पेश गरेका हुन् ।
आफु र परिवारलाई मानसिक तनाव दिने काम भएको भन्दै उनले क्षतिपूर्ती सहित कर्मचारीलाई निलम्बनको माग गरेका छन् । दक्ष तथा अनुभवि कर्मचारी नहुँदा आफहुरुले दुख पाउने गरेको नगरबासीहरुको गुनासो छ ।