बैतडी-बैतडीको सिगास गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएको छ । बैतडीको सिगास सहित सुदूरपश्चिमका १२ पालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएका हुन् ।
देश भरिबाट छानिएका १०४ पालिकाध्ये प्रदेशका १२ वटा पालिका छनौटमा परेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि सिगास गाउँपालिका पनि छनौटमा परेको गाउँपालिकाका अध्यक्ष हरिश सिंह धामीले जानकारी दिए । यस वापत पालिकाले विशेष अनुदान पाउने बताइएको छ ।
गाउँपालिकाले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सम्वन्धी कार्यविधि २०८० अनुसार स्थानीयको आर्थिक विकास गर्न ७५ लाख बजेट पाउने बताइएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव आह्वान गरे अनुसार प्रस्ताब पेश गरेका पालिका मध्येबाट बैतडीको सिगास गाउँपालिका पनि परेको हो । छनोटमा परेका पालिकाले मन्त्रालयले दिने ७५ लाख र त्यसको १५ प्रतिशतले हुन आउने रकम थपी नयाँ काम शुरु गर्ने बताइएको छ ।