बैतडी –बैतडीको पाटन नगरसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । केही योजनाहरुको नाम संशोधन, अहिलेसम्मको खर्च विवरण र कार्यपालिकाले गरेका निर्णयहरु पारित गर्दै नगरसभाको अधिवेशन बुधबार सम्पन्न भएको हो ।
नगरसभाको अधिवेशनमा चालु आर्थिक बर्षको अहिलेसम्मको प्रगति विवरण पेश गरिएको र नगरसभाले पारित गरेको सामाजिक विकास समितिका संयोजक एवं पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
नगरपालिकाले चालु आर्थिक बर्षको अहिले सम्म १३ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाको सबैभन्दा बढी जनसंख्या भएको वडा नं ६ ले सबैभन्दा बढी १ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने त्यसपछि वडा नं ८ ले १ लाख ५ हजार रुपैयाँ राजस्व संकलज गरेको छ ।
सबैभन्दा कम वडा नं ३ ले १९ हजार ९ सय रुपैयाँ मात्रै राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।
वडा नं १ ले ७० हजार ३ सय २३ रुपैयाँ, वडा नं २ ले ७६ हजार ७ सय ३१ रुपैयाँ, वडा नं ४ ले ६१ हजार ५ सय १६ रुपैयाँ, वडा नं ५ ले ३१ हजार ८ सय २० रुपैयाँ, वडा नं ९ ले २९ हजार रुपैयाँ र वडा नं १० ले ३१ हजार ८ सय ७५ रुपैयाँ राजस्व संकलन गरेको नगरसभाको अधिवेशनमा जानकारी दिइएको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षमा ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । आन्तरिक आम्दानी बढाउनेतर्फ बिशेष ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए ।
चालु आर्थिक बर्षको अहिलेसम्म ३ प्रतिशतमात्रै पूँजीगत खर्च भएको भन्दै नगसभाका सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । यसले असारे विकासको प्रवृति बढ्ने भन्दै पालिकाले विकास निर्माणका कामहरु समयमै सम्पन्न गर्नुपर्नेमा वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्टले जोड दिए ।
नगरसभाको अधिवेशनमा वडा नं ८ का वडा अध्यक्ष एवं नगरपालिकाको सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको र शिक्षा क्षेत्रमा परिवर्तन गर्न सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालय समायोजन प्रक्रिया टुंग्याउनेतर्फ सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नगरसभाको अधिवेशनमा वडा नं ६ का वडा अध्यक्ष एवं उर्जा तथा जलश्रोत समितिका संयोजक राजेन्द्रसिंह बिष्टले नगरपालिका क्षेत्रको समग्र विकासका लागि सबैले लाग्नुपर्नेमा जोड दिए ।
नगरसभाबाट पारित भएका नीति तथा कार्यक्रम र योजनाहरुको कार्यान्वयनमा बिशेष ध्यान दिन नगर प्रमुख गौरीसिंह रावलले जोड दिए ।
नगर प्रमुख रावलको अध्यक्षतामा सम्पन्न भएको नगरसभा अधिवेशनमा नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो ।