Sagun Khabar
रौलाकेदार धाममा दर्शनार्थीको घुइचो बढ्दै 

बैतडी –बैतडीको प्रसिद्ध रौलाकेदार धाममा दर्शनार्थीहरुको घुइचो बढेको छ । हरेक बर्ष साउनको महिना सो धाममा दर्शनका लागि विभिन्न ठाउँबाट भक्तजनहरु जाने गर्दछन् । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । करीब ३ हजार मिटर उचाईमा रहेको रौलाकेदार धाममा कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने श्रावण महिनाभरी दर्शनार्थीहरु दर्शन गर्ने गर्दछन् । 

रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी विष्णुदत्त भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए । उनले भने ‘रौलाकेदार अद्भुत शक्ति भएको धाम हो । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ । त्यसैले दर्शन गर्न आउनेको संख्या पनि बढ्दै गएको छ ।’

Atrya hospital

भगवान शिवका १२ ओटा ज्योर्तिलिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि रौलाकेदार नै केदारथान ज्योर्तिलिङ्ग भएको बताएका छन् । उनले भने ‘‘हामी लाखौं रुपैंया खर्च गरेर तीर्थाटनका लागि भारत जाने गरेका छौं । तर पूराणमा वर्णित भएका ज्योर्तिलिङ्ग हाम्रै आँगनमा रहेका छन् ।’

सुर्नया ५ मा रहेको रौलाकेदार मन्दिर केदारनाथ ज्योर्तिलिङ्ग भएको जगद्गुरुले बताए । रौलाकेदारको महिमा बद्रीकेदारको जत्तिकै रहेको उनले प्रष्ट पारे । उनले भने ‘पौराणिक रावलादी पर्वतमा अवस्थित ज्योर्तिलिङ्ग नै केदारनाथ हो ।’

रौलाकेदार धाममा पुग्नका लागि बाटो भने अप्ठ्यारो रहेको छ । रौलाकेदारमा पहिला पनेरु राजाको राजदरबार रहेको समेत बताइएको छ । राजाले शासन गर्ने बेला बनाइएका विभिन्न भौतिक संरचनाका अवशेषहरु पनि अझै भेटिने गरेको पूजारी भट्टले बताए । 

अग्लो डाँडोमा रहेको रौलाकेदारको दर्शनका लागि बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थी समेत आउने गरेको सुर्नया ४ का रामबहादुर महराले बताए  । रौलाकेदारको प्रचारप्रसार नहुँदा ओझेलमा परेको उनले बताए ।  रौलाकेदार जस्ता धार्मिक सम्पदाहरुको प्रचारप्रसारका लागि राज्यको ध्यान नगएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update