बैतडी –सुर्नया गाउँपालिकाको केन्द्रमा बैंकले सेवा दिन थालेपछि स्थानीयबासिन्दाहरु खुसी भएका छन् । स्थानीय तह स्थापना भएको झण्डै सातबर्ष पछि मात्रै सुर्नया गाउँपालिकाको केन्द्रमा बैंक पुगेको हो ।
यसअघि सुर्नया गाउँपालिकाको वडा नं २ स्थित सतबाँझबाट सेवा दिइरहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गाउँपालिकाको केन्द्र रौलेश्वरमा आफ्नो सेवा विस्तार गरेको हो ।
गाउँपालिकाबासीको सहजताका लागि गाउँपालिकाको केन्द्रमा बैंकको सेवा विस्तार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझका प्रबन्धक गोविन्द बिष्टले जानकारी दिए । उनले भने ‘हामीले ग्रामीण क्षेत्रमै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित गाउँपालिकाको केन्द्रमा बैंकको सेवा विस्तार गरेका हौं । यसले स्थानीय नागरिकहरुलाई सहज भएको छ ।’
गएको मंसिर २० गतेबाट सुर्नया गाउँपालिकाको केन्द्र नजिकै बिष्टपालीमा बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । गाउँमा बैंकले सेवा दिन थालेपछि गाउँपालिकाबासीहरुलाई सहज भएको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गोपालसिंह मडैले बताए । सामाजिक सुरक्षा भत्ता बुझ्नेदेखि लिएर अन्य कामका लागि सतबाँझ पुग्नुपर्ने नागरिकहरुलाई सहज भएको उनले बताए । उनले भने ‘सानो बैंकिङ कामको लागि सतबाँझ पुग्नुपर्ने बाध्यता थियो । गाउँमै बैंकको सेवा विस्तार भएपछि सहज भएको छ ।’
गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने हरेक योजनाहरुको बैंकिङ प्रणालीबाटै भुक्तानी गर्ने गरेको छ । यसका लागि उपभोक्ता समितिले बैंकमा खाता खोल्नुपर्ने हुन्छ । रौलेश्वरमा बैंकको सेवा विस्तार नहुँदा सम्म सतबाँझमै पुगेर खाता खोल्नुपर्ने बाध्यता रहेकोमा अहिले त्यो बाध्यता हटेको स्थानीय अर्जुनसिंह मडैले बताए ।
गाउँपालिकाको केन्द्रमै बैंकको सेवा विस्तार भएपछि गाउँपालिकाबासीहरुलाई सहज भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी दिए । उनले भने ‘पछिल्लो समयमा गाउँपालिकाबासीहरुलाई सहज भएको छ । गाउँपालिकाको केन्द्रमा बैंकिङ सेवा विस्तार भएको छ ।’
गाउँपालिकाको केन्द्रमा बैंकको सेवा विस्तार भएपछि सेवाग्राहीलाई निकै सहज भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एक्सटेन्सन काउन्टर इञ्चार्ज विनोद बिष्टले बताए ।