बैतडी–बैतडीमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेका सडकहरुमा बजेटको अभाव भएको छ । बहुबर्षीय ठेक्का भएका सडकमा बजेटको अभावले काम अघि बढाउन समस्या भएको कार्यालयका इन्जिनियर नरेश भुलले बताए ।
पाटन–पञ्चेश्वर, देहीमाण्डौं–गिरेगडा र सैनखान–भीमचुल्ला –सदरमुकाम सडकमा बजेटको अभाव रहेको उनले बताए ।
पाटन –पञ्चेश्वर सडक अन्तर्गत मेलौली–पञ्चेश्वर खण्डमा कालोपत्रेको काम भइरहेको छ । मेलौलीदेखि पञ्चेश्वर सम्मको २५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो । २०७७ सालदेखि कन्काइ–कुमार–केएस जेभीले उक्त सडकमा कालोपत्रेको काम गरिरहेको छ । ४१ करोडमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न गरिसकेको इन्जिनियर भुलले बताए ।
यो बर्ष उक्त सडकमा ३ करोड बजेट आएको १ करोड १४ लाख भुक्तानी भइसकेको छ भने अब बील उठ्ने समय आएको छ । बजेट अभावमा कालोपत्रेको काम अघि बढाउन समस्या रहेको इन्जिनियर भुलले बताए ।
यस्तै देहीमाण्डौं –गिरेगडा सडकमा पनि बजेटको अभाव रहेको छ । बहुबर्षीय ठेक्का गरेर कालोपत्रे गर्ने काम भइरहेको सडकमा बजेटको अभाव रहेको इन्जिनियर भुलले बताए । उक्त सडकको देहीमाण्डौंदेखि ५ किलोमिटर कालोपत्रे भइसकेको छ । थप १० किलोमिटर कालोपत्रेको ठेक्का भएकोमा यो बर्ष बजेटको अभाव रहेको बताइएको छ ।
देहीमाण्डौं– गिरेगडा सडक कालोपत्रेका लागि ग्वाल्लेक निर्माण सेवासँग १३ करोडको ठेक्का सम्झौता भएको थियो ।
यस्तै सैनखान–भीमचुल्ला–सदरमुकाम सडकमा पनि बजेटको अभावमा काम अघि बढाउन समस्या रहेको बताइएको छ ।
स्तरोन्नती भइरहेका सडकमा बजेट अभाव भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गृह जिल्ला बैतडीमा सडक अनुगमन गरिरहेका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बजेट अभावको बिषयमा जानकारी गराएको हो ।
जिल्लामा प्रदेश सरकार मातहत रहेका र स्तरोन्नती भइरहेका सडकमा बजेटको अभाव भएको बिषयमा जानकारी गराइएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताए ।
मन्त्री भट्टले सडक स्तरोन्नतीमा देखिएको बजेट अभावको समस्या समाधान गर्ने आश्वासन समेत दिएका छन् ।