बैतडी –प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपमा बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ ।
पहिलो खेलमा बझाङलाई १८१ रनले पराजित गरेको बैतडीले दोस्रो जित दर्ता गर्ने क्रममा मंगलबार अछाममाथि ९८ रनको विशाल जित दर्ता गर्याे ।
निर्धारित ५० ओभरको खेल रहेकोमा बिहान हुस्सुका कारण ४० ओभरमा झारिएको थियो ।
जितका लागि पाएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा अछाम २८.५ ओभरमा ११५ रनमा अलआउट भयो । उसका महाजन कुँवरले सर्वाधिक २४ रन हिर्काए । बैतडीका लागि गजेन्द्र बोहराले ३,भुपेन्द्र चन्द,ऋषिकेश बोहरा,वसन्त खत्रीले समान दुई दुई विकेट लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३८.५ ओभरमा २१३ रनमा समेटियो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै ५२ रनको योगदान गरे ।
यस्तै खडक बोहराले ३४,वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२, ऋषिकेश बोहराले १६ रन बनाए । अछामका रोहित खड्का र अभिषेक चौधरीले ३÷३ विकेट झारे ।
बैतडीका नरेन भट्ट म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले बताए ।
प्रतियोगिता अन्तरगत भोलि अछाम र कञ्चनपुर भिड्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ ।