बैतडी –प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी शुरूवात गरेको छ ।
सुखद शुरूवात गर्ने क्रममा बैतडीले बझाङमाथि १८१ रनको विशाल जित निकाल्यो । जितका लागि पाएको २८१ रनको लक्ष्य पछ्याएको बझाङ १७.५ ओभरमा ९९ रनमा अलआउट भयो । उसका सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए । बैतडीका कप्तान ऋषिकेश बोहराले ४,हिक्मत महराले ३ र सन्तोष चन्दले २ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो । जसमा प्रदीप चन्द र आयुष चन्दले अर्धशतक हिर्काए । प्रदीप ८३ र आयुश ५९ रनमा आउट भए । बझाङका लागि कप्तान सञ्जय बोहरा र अभिनाश सिंहले २÷२ विकेट हात पारे । बैतडीका प्रदीप चन्द खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले बताए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसीप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलाइट च्याम्पियनसीप र सेमीफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन् ।