बैतडी –बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसीपको उपाधि बझाङले हात पारेको छ । उपाधिसंगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनौट भएको छ ।
प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा शुक्रबार डोटीलाई ६ विकेटले हराउदै बझाङ छनौट भएको हो ।
जितका लागि पाएको १८६ रनको लक्ष्य बझाङले २९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे । सनम खेलका म्यान अफ द म्याच घोषित भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटीले ८ विकेटको क्षतिमा १८५ रन बनायो । उसका खगेन्द्र जोशीले ६३ रनको पारी खेले । बझाङका पारस रोकायाले २ विकेट हात पारे ।
विजेता टोलीलाई दशरथचन्द नगरपालिकाका पुर्व नगरप्रमुख नरेन्द्रसिंह थापा,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,उपाध्यक्ष लोकराज जोशी, सचिव सिद्धराज बोकटीलगायतले पुरूस्कार वितरण गरे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भएको हो । दोस्रो चरणमा बैतडी र कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् ।
प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी सहभागी भएका थिए । ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर, अछाम र बझाङ सहभागी हुनेछन् ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।
ईलिट च्याम्पियनसिपको पहिलो खेल शनिबार बैतडी र बझाङबीचको खेल बैतडीमै हुनेछ ।