बैतडी - बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा डडेल्धुराले डोटीमाथि शानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले हरायो ।
जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्याे । जसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटी १९.४ ओभरमा ६९ रनमा समेटियो । उसका कप्तान भोजराज भट्ट र पारस महतले १५÷१५ रन बनाए । डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे । सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए ।
दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना जीवितै छ । भोलि हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टिमको टुंगो लाग्नेछ । बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी,डडेल्धुरा र बझाङको नेट रनरेटका आधारमा क्वालिफायरको टुंगो लाग्नेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिरहेको छ।