दार्चुला-दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ । मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाको वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
‘मालिकार्जुन गाउँँपालिकाको शान ः बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै पहिलो वडाको रूपमा उकुलाई बालविवाह मुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । मालिकार्जुन गाउँपालिकालाई २०८२ सालभित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेको छ ।
स्थानीय रणनीति २०७६ लागू भएपछि मालिकार्जुनमा गुड नेभर्स इन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ । पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले छ प्रतिशतमा झरेको गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीले बताए ।