बैतडी– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेलमा आज डोटी विजयी भएको छ ।
डोटीले दार्चुलालाई ८ विकेटले हराएर जित हात पारेको हो । दार्चुलाले दिएको ८२ रनको सामान्य लक्ष्य डोटीले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेका हो । जसमा हृदय विठारीले अविजित २७ र अनुराग सिंहले २० रनको योगदान गरेका हुन । हृदय विठारी खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्र चन्दले बताए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको दार्चुला ३०.४ ओभरमा ८१ रन मात्रै बनाउन सक्यो । उसका विपिन धामीले सर्वाधिक १६ रन बनाए । डोटीका सुर्य श्रेष्ठ र आयुस द्वारियाले समान ३÷३ विकेट हात पारे । यस्तै दार्चुलाका लागी विरेन बमले २ विकेट हात पारेका थिए ।
जितसंगै डोटीले क्वालिफायरमा पुग्ने सम्भावना राखेको छ भने दोस्रो खेलमा पनि पराजय ब्यहोरेको दार्चुलाको सम्भावना करिब सकिएको छ । प्रतियोगिता अन्तरगत भोलि बझाङ र दार्चुला खेल्नेछन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिरहेको छ ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् । प्लेट च्याम्पियनसीपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा ईलिट च्याम्पियन सिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।