बैतडी–प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरु भएको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सम्पन्न उद्घाटन खेलमा डडेल्धुरा विजयी भएको छ ।
डडेल्धुराले सुखद शुरुवात गर्ने क्रममा दार्चुलामाथि २ विकेटको संघर्षपूर्ण जित निकाल्यो । जितका लागि पाएको ७९ रनको सामान्य लक्ष्य डडेलधुराले १८.२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । जसमा विशाल ऐरले सर्वाधिक २३ रनको योगदान गरे । दार्चुलाका विरेन बम र दिनेश कार्कीले ३÷३ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको दार्चुला २१.५ ओभरमा ७८ रनमा समेटियो । उसका दिनेश कार्कीले २४ रनको योगदान गरे । डडेल्धुराका निरज ऐरले ४ विकेट हात पारे । निरज खेलका म्यान अफ द म्याच समेत चुनिएका स्कोरर नरेन्द्र चन्दले बताए । प्रतियोगिता अन्तरगत भोलि दार्चुला र डोटीबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेलअघि आज प्रतियोगिताको एक कार्यक्रम गरेर उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी लगायतको उपस्थिति रहेको थियोे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् । प्लेट च्याम्पियनसीपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा ईलिट च्याम्पियन सिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलीरहेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए ।