Sagun Khabar
पिएम कप एकदिवसीय पुरुष क्रिकेट : प्लेट च्याम्पियनसीप छनौट बैतडीमा हुने 

बैतडी –प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमस्तरीय छनौट अन्तर्गत प्लेट च्याम्पियनसीप प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । 

प्रादेशिक क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए । 

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्लेट च्याम्पियनसीप प्रतियोगितामा दार्चुला, डडेल्धुरा, बझाङ र डोटीको टीम सहभागी हुनेछ । गत बर्ष सेमीफाइनलमा नपुगेका टीमहरुबीच प्लेट च्याम्पियनसीप प्रतियोगिता हुने उनले बताए । 

Atrya hospital

इलाइट च्याम्पियनसीपमा बैतडी, अछाम, कैलाली र कञ्चनपुरको टीम सहभागी हुनेछन् । यस्तै प्लेट च्याम्पियनसीपको विजेता टोली पनि इलाइट च्याम्पियनसीपमा सहभागी हुने बताइएको छ । 

इलाइट च्याम्पियनसीप प्रतियोगिता भने धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । 

प्रतियोगितामा सहभागी भएका खेलाडीहरु मध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट पिएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले माघ पहिलो साता काठमाण्डौंमा हुने पिएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने उपाध्यक्ष बोहराले बताए । 

यसैबीच प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ । बसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

टोलीका अन्य सदस्यहरूमा उपकप्तान रिसिकेश बोहरा ,विकेट किपर नरेश चन्द, खडक बोहरा, गजेन्द्र बोहरा, हिक्मत महरा, प्रदीप चन्द, सुदीप टमाटा, डम्बर तिरूवा, भुपेन्द्र चन्द, सन्तोष चन्द, आयुश चन्द, नरेन भट्ट र विरेन्द्र चन्द रहेका छन् । 

यस्तै विरेन्द्र नाथ,लोकेश चन्द,महेन्द्र मार्कण्ड र मधुर विष्ट वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन् र हालै सम्पन्न बिडिसिए कपमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update