बैतडी–बैतडीको सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । एक कार्यक्रमकाबीच अर्जुन मावि गाँजरीको प्रांगणमा प्रतियोगिताको शुरुवात गरिएको हो ।
सिगास गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा प्रदेश सभा सदस्य जानकी ऐर बम प्रमुख अतिथी रहेका थिइन् । उद्दघाटन समारोहमा जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमनकुमार भण्डारी विशिष्ट अतिथी रहेका थिए ।
सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी, वडा अध्यक्षहरु, खेलप्रेमी, स्थानीय अभिभावक, विद्यार्थीहरु लगायतको भव्य उपस्थितीमा प्रतियोगिताको उद्दघाटन गरिएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए ।
प्रतियोगितामा पालिकाभरीका कक्षा १२ सम्म पढाई हुने १५ ओटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, कराँते र एथलेटिक्सकाहरु खेलहरु भइरहेका शिक्षा शाखा प्रमुख भट्टले बताए ।
पौष १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १२ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने विद्यालयलाई नगद ८ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखा प्रमुख भट्टले बताए ।
प्रतियोगिताबाट सबै विधाका उत्कृष्ट खेलाडीहरुको छनौट गरी जिल्लास्तरीय प्रतियोगिताका लागि सिगासको टीम बनाइने शिक्षा शाखा प्रमुख भट्टले बताए ।