Sagun Khabar
दनपामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको हो । 

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक एवं नगर प्रमुख पुष्करराज जोशीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगिताको उद्दघाटन सत्रमा नगर उपप्रमुख कौशिला चन्द, वडा अध्यक्षहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै खेल क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । 

Atrya hospital

प्रतियोगिताको उद्दघाटन सत्रमा नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले स्वागत मन्तव्य राखेका थिए । 
यही पौष ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरी १९ सामुदायिक र २ संस्थागत गरेर २१ ओटा विद्यालयको सहभागिता छ । 

प्रतियोगितामा भलिबल, कबड्डी, सितेरियो कराँते, एथलेटिक्सका खेलहरु सञ्चालन हुने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने विद्यालयलाई २५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा तेश्रो हुने विद्यालयलाई १५ हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ । 

यस्तै भलिबलतर्फ उत्कृष्ट छात्र र छात्रालाई जनही दुई हजार पुरस्कार दिइनेछ भने कबड्डीतर्फ उत्कृष्ट छात्र र छात्रालाई जनही दुई हजार पुरस्कार प्रदान गरिने बताइएको छ । 

यस्तै भलिबलमा बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट डिफेण्डर (लिब्रो), बेस्ट ब्लकर र बेस्ट सर्भरलाई एक÷एक हजारका दरले पुरस्कार दिइनेछ । यस्तो पुरस्कार एक÷एक जना छात्र र छात्राहरुलाई प्रदान गरिनेछ । यस्तै कबड्डीमा बेस्ट रेडर र डिफेन्डरलाई पनि एक÷एक हजारका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष चन्दले बताए । यो पुरस्कार पनि छात्र र छात्रा दुवैलाई प्रदान गरिनेछ । 

यस्तै मार्चपासमा उत्कृष्ट विद्यालयलाई ५ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने अनुशासित टीमलाई नगद ५ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update