Sagun Khabar
बिडिसिए कपको उपाधि निङ्गलाशैनी क्रिकेट क्लबलाई 

बैतडी – बैतडीमा सम्पन्न २०औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङ्गलाशैनी क्रिकेट क्लबले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि १ विकेटको संघर्षपूर्ण जित निकाल्दै निङ्गलाशैनीले उपाधि हात पारेको हो । 

उपाधिसंगै निङ्गलाशैनीले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । एकेडेमीले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।  एकेडेमीले दिएको २२९ रनको लक्ष्य पछ्याएको निङ्गलाशैनीले ४६.१ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जसमा खडक बोहराले अर्धशतकीय पारी खेले । म्यान अफ द फाइनल बनेका खडकले ८२ रन जोडे । एकेडेमीका सन्तोष चन्दले ४ विकेट हात पारे । 

Atrya hospital

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४९ ओभरमा २२८ रनमा समेटियो । उसका बसन्त खत्रीले ५८ रनको योगदान गरे । निङ्गलाशैनीका कप्तान ऋषिकेश बोहरा र खडक बोहराले ३र३ विकेट हात पारे । 

यसैबीच प्रतियोगिताभर ५४६ रन र ८ विकेट लिन सफल निङ्गलाशैनीका खडक बोहरा सर्वोत्कृट खेलाडी र बेस्ट बलर हुँदै साढे ७ हजार पुरस्कार हात पारे । प्रतियोगितामा १४ विकेट लिएका एकेडेमीका बसन्त खत्री बेस्ट बलर हुँदै २ हजार ५ सय पुरूस्कार पाए ।

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल,नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरे । 
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोली सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update