बैतडी –बैतडीको दशरथचन्द नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि हुने भएको छ । निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरीका २१ ओटा विद्यालयको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
दशरथचन्द नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार खेलकुद प्रतियोगिता सञ्चालन हुन गइरहेको हो ।
प्रतियोगिता अन्तर्गत छात्रा छात्रा भलिबल, कबड्डी, सितेरियो कराँते, एथलेटिक्सका खेलहहरु हुने चन्दले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ भने दोश्रो हुनेलाई नगद २५ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा तेश्रो हुनेलाई नगद १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १० हजारसहित शिल्ड प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै प्रतियोगिता अन्तर्गत सबै विधाका खेलहरुमा उत्कृष्ट खेलाडीहरुलाई जनही २हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यस्तो पुरस्कार छात्र र छात्रा दुवैलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै भलिबलमा बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट डिफेण्डर (लिब्रो), बेस्ट ब्लकर र बेस्ट सर्भरलाई एक÷एक हजारका दरले पुरस्कार दिइनेछ । यस्तै कबड्डीमा बेस्ट रेडर र डिफेन्डरलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष चन्दले बताए ।
भोलिदेखि शुरु हुने प्रतियोगिताको सबै तयारी पूरा भएको दशरथचन्द नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए ।
प्रतियोगिताको भोलि बिहान ११ बजे उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । उद्दघाटन सत्रमा छलिया नृत्यसहितका स्थानीय संस्कृतिहरुको प्रदर्शन गर्ने कार्यक्रम रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।