बैतडी –बैतडीमा जारी २०औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा निङ्गलाशैनी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।
साबिक विजेता टोली निङ्गलाशैनी सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा त्रिपुरा क्रिकेट क्लबलाई ६ विकेटले हराउदै फाइनल पुगेको हो ।
जितका लागि पाएको २०६ रनको लक्ष्य निङ्गलाशैनीले ३०.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे । जसमा खडक बोहराले अविजित १२६ रनको योगदान गरे । म्यान अफ द म्याच भएका खडकले आजको हिर्काएको शतकले कीर्तिमान समेत बनाएका छन् । खडक बिडिसिए इतिहासमै लगातार तेस्रो शतक बनाउने पहिलो खेलाडी बनेका छन् । यसका साथै खडकको नाममा दोहोरो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान पनि छ । त्रिपुराका जयसिंह धामी र उमेश सिंह बुडालले २÷२ विकेट हात पारे ।
त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको त्रिपुरा ३७.२ ओभरमा २०५ रनमा अलआउट भयो । उसका कप्तान महेन्द्र मार्कण्डले ३६, ललित मौनीले ३५ र रमेश थापाले ३४ रन बनाए ।
निङ्गलाशैनीका लागि सन्तोष बिजलेले ३ तथा कप्तान ऋषिकेश बोहराले २ विकेट हात पारे । निङ्गलाशैनीले अब पुस ४ गते उपाधिका लागि दशरथचन्द एकेडेमीसंग भिड्नेछ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ ।
प्रतियोगिताको विजेताले ५०हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।